नमोबुद्ध
राजकुमार महासत्वले भोकाएकी वाघनीलाई आफ्नो मासु दान गरेको नमोबुद्धको कथा।
नमोबुद्ध
पाञ्चाल देशका राजाका महाप्रसाद, महाघोष र महासत्व नामका तीन राजकुमारहरू थिए। एक दिन ती तीनैजना राजकुमारहरू शिकार खेल्न वनले ढाकिएको योगाकूल पर्वततर्फ गए।
जंगलको एक ओडारमा उनीहरूले भर्खर डमरु जन्माएकी एउटी बघिनी देखे। हप्तौँदेखि आहारा नपाएर त्यो बघिनी यति अशक्त र भोकले छटपटाएकी थिई कि आफ्ना बच्चाहरूलाई दूध खुवाउन पनि असमर्थ थिई। भोका डमरुहरू आमाको सुकेको स्तन चुस्न खोज्दै छटपटाइरहेका थिए।
त्यो अत्यन्त कारुणिक दृश्य देखेर कान्छा राजकुमार महासत्वको हृदय दया र करुणाले पग्लियो। उनले आफ्ना दाजुहरूलाई अघि बढ्न लगाए र आफू बघिनीको सामु उभिएर आफ्नो शरीर समर्पण गर्ने अठोट गरे।
तर बघिनी यति अशक्त थिई कि राजकुमारलाई आक्रमण गर्न पनि सकिनन्। तब महासत्वले बाँसको सुइरोले आफ्नै घाँटीमा रेटेर रगतको धारा बघिनीको मुखमा हालिदिए। रगतको स्वाद पाएर ब्युँझिएकी बघिनीले महासत्वको सम्पूर्ण शरीर खाएर आफ्नो र बच्चाहरूको प्राण बचाइन्।
दाजुहरू फर्केर हेर्दा भाइको रगत र अस्थिपञ्जर मात्र भेटियो। दरबारमा यो खबर पुग्दा राजा-रानीसहित सारा नगरवासी शोकमा डुबे। राजा स्वयं घटनास्थलमा पुगेर ती पवित्र अस्थिहरूलाई सुनको बाकसमा राखी त्यसमाथि भव्य चैत्य निर्माण गराए।
परोपकारका लागि आफ्नो शरीर उत्सर्ग गर्ने महासत्व नै कालान्तरमा शाक्यमुनि गौतम बुद्धका रूपमा जन्मिए। पछि बुद्धले आफ्ना शिष्यहरूसहित यहाँ आई त्यस चैत्यलाई नमन गर्दै "नमो बुद्धाय" भनेकाले यस पवित्र तीर्थलाई 'नमोबुद्ध' भन्न थालियो।
सूचना: यी परम्परागत नेपाली लोककथा (किम्बदन्ती) हुन्, जो पुस्तौँदेखि मुखबाट मुखमा चलिआएका छन्। यी वास्तविक ऐतिहासिक घटनासँग मिल्न पनि सक्छन्, नमिल्न पनि — तर नेपालको सांस्कृतिक सम्पदाको रूपमा यिनलाई भनिँदै र विश्वास गरिँदै आइएको छ।
सम्बन्धित किम्बदन्ती
स्थाननाम र यससँग जोडिएका अन्य कथा।