2. ब्रह्मचारिणी

नवदुर्गा — माता दुर्गाका नौ स्वरूप

दिन
द्वितीय दिन
चक्र
स्वाधिष्ठान
भुजा
2
ब्रह्मचारिणी
माता ब्रह्मचारिणी — नवदुर्गा स्वरूप 2

ध्यान-मन्त्र

दधाना करपद्माभ्यामक्षमालाकमण्डलू। देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा॥

कमल हातले जपमाला र कमण्डलु धारण गर्ने, अनुपम ब्रह्मचारिणी देवी ममाथि प्रसन्न हुनुहोस्।

माता दुर्गाका नौ शक्तिमध्ये दोस्रो स्वरूप ब्रह्मचारिणी हो। यहाँ 'ब्रह्म' शब्दको अर्थ तपस्या हो। ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने — तपस्या गर्ने। भनिएको पनि छ — 'वेद, तत्त्व र तप ब्रह्म शब्दका अर्थ हुन्।' ब्रह्मचारिणी देवीको स्वरूप पूर्ण ज्योतिर्मय र अत्यन्त भव्य छ। उहाँको दाहिने हातमा जपको माला र बायाँ हातमा कमण्डलु रहन्छ।

पूर्वजन्ममा जब उहाँ हिमालयको घरमा छोरीको रूपमा जन्मिनुभएको थियो, तब नारदको उपदेशले उहाँले भगवान् शङ्करलाई पतिको रूपमा प्राप्त गर्न अत्यन्त कठिन तपस्या गर्नुभयो। यही दुष्कर तपस्याको कारण उहाँलाई तपश्चारिणी अर्थात् ब्रह्मचारिणी नाम दिइयो। एक हजार वर्ष उहाँले केवल फल-मूल खाएर बिताउनुभयो। सय वर्षसम्म केवल शाकमा निर्वाह गर्नुभयो। केही दिन कठिन उपवास गर्दै खुला आकाशमुनि वर्षा र घामका भयानक कष्ट सहनुभयो। यस कठिन तपस्यापछि तीन हजार वर्षसम्म जमिनमा झरेका बेलपत्र मात्र खाएर उहाँ दिनरात भगवान् शङ्करको आराधना गरिरहनुभयो। यसपछि उहाँले सुक्खा बेलपत्र खान पनि छाड्नुभयो। धेरै हजार वर्ष उहाँ निर्जल र निराहार तपस्या गरिरहनुभयो। पात (पर्ण) खान पनि छाडिदिएको कारण उहाँको एक नाम 'अपर्णा' पनि प¥यो।

धेरै हजार वर्षको यस कठिन तपस्याको कारण ब्रह्मचारिणी देवीको त्यो पूर्वजन्मको शरीर एकदमै क्षीण भयो। उहाँ अत्यन्त दुब्ली हुनुभयो। उहाँको यो दशा देखेर उहाँकी आमा मेना अत्यन्त दुःखी हुनुभयो। उहाँलाई त्यो कठिन तपस्याबाट विरत गराउन उनले आवाज दिइन् — 'उ मा', ओ रे! होइन, ओ! होइन!' त्यसैबेलादेखि देवी ब्रह्मचारिणीको पूर्वजन्मको एक नाम 'उमा' पनि रह्यो।

उहाँको यो तपस्याले तीनै लोकमा हाहाकार मच्चियो। देवता, ऋषि, सिद्धगण र मुनि सबैले ब्रह्मचारिणी देवीको यो तपस्यालाई अभूतपूर्व पुण्यकृत्य भनी प्रशंसा गर्न थाले। अन्तमा पितामह ब्रह्माजीले आकाशवाणीद्वारा उहाँलाई सम्बोधन गर्दै प्रसन्न स्वरमा भन्नुभयो — "हे देवी! आजसम्म कसैले पनि यस्तो कठोर तपस्या गरेको थिएन। यस्तो तपस्या तिमीबाटै सम्भव थियो। तिम्रो यो अलौकिक कृत्यको चारैतिर प्रशंसा भइरहेको छ। तिम्रो मनोकामना सर्वतोभावेन पूर्ण हुनेछ। भगवान् चन्द्रमौलि शिवजी तिमीलाई पतिको रूपमा प्राप्त हुनुहुनेछ। अब तिमी तपस्याबाट विरत भएर घर फर्क। चाँडै तिम्रा पिता तिमीलाई बोलाउन आउँदैछन्।"

माता दुर्गाको यो दोस्रो स्वरूप भक्त र सिद्धहरूलाई अनन्त फल दिने हो। उहाँको उपासनाले मानिसमा तप, त्याग, वैराग्य, सदाचार र संयमको वृद्धि हुन्छ। जीवनका कठिन सङ्घर्षमा पनि उसको मन कर्तव्य-पथबाट विचलित हुँदैन। माता ब्रह्मचारिणी देवीको कृपाले उसलाई सर्वत्र सिद्धि र विजय प्राप्त हुन्छ। दुर्गापूजाको दोस्रो दिन उहाँकै स्वरूपको उपासना गरिन्छ। यस दिन साधकको मन 'स्वाधिष्ठान' चक्रमा स्थित हुन्छ। यस चक्रमा अवस्थित मन भएको योगीले उहाँको कृपा र भक्ति प्राप्त गर्छ।

नवदुर्गाका सबै नौ स्वरूप हेर्नुहोस्